कबिता

\हराएको देशको मुचुल्का/

सदियौंदेखिन् कुहिरोको आदिम कारागारभित्र
बन्दी मेरो राँके बजार !
दिनभरि चियापसलमा आँसु थाप्छ
र रातभरि खोटेसल्लाको फेंदमा रुन्छ-
खोटो प्रारब्ध सम्झदैं
सबाल्टर्नहरुका मीठो सुस्केरा भएर
डिलमुन्तिर अविरल बग्ने  त्यो निभुखोलासित !
हो, यहिनेर बाँचिरहेकी छिन् धरमर -धरमर
सामन्तहरुको विवश वस्तीमा
मेरी सीमान्त आमा !
मेरो बेवारिस देश !

सरजमिन बक्नेहरु कराइरहेछन्-
चारभञ्ज्याङभित्र देशको लास मात्र छ !
लासको देश मात्र छ चारभञ्ज्याङभित्र ! 


तेसो र,
चारभञ्ज्याङबाहिर
मनबाट उर्लने डङ्गुर भावोच्छलनहरु
कुहिरोको आदिम कारागार भत्काएर
इन्द्रेणीको पुलबाट तरेर जान्छन्
रङ्गको  देश खोज्दै !
मस्तिष्कबाट कुर्लने वैचारिक तरङ्गहरु
निभुखोलाको हजारौं-हजार लहरहरु भएर
सबाल्टर्नको मूलबाट बगेर जान्छन् देशको  रङ्ग खोज्दै !

1 comment:

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। -(भोजपुरे एडमिन परिवार)

Blog Widget by LinkWithin