कबिता


"आमा"

यो विस्मृतिको चट्टाने पानाहरू पल्टाएर
आमा ! तिमीलाई भिष्म पितामहको मनले सम्झिरहेछु
सयौँ ताराहरूमा तिमीलाई चम्केको देखिरहेछु
स्वच्छ बहने हावामा तिमीलाई महसुस गरिरहेछु
सूर्यको उज्यालो र न्यानोमा तिमीलाई नै छामिरहेछु
आमा ! तिमी आदारका साथ मनभित्र सजिएकी छौ
आमा ! तिमी श्रद्धाका साथ आस्थाभित्र सजिएकी छौ ।


यो विस्मृतिको बादलहरूका थुप्रो हटाएर
आमा ! तिमीलाई कर्णको मनले सम्झिरहेछु
चिसो वर्तमानमा उभिएर
आँखामा सजिएका विस्मृतिहरूमा तिम्रो वासल्यको ममतालाई सम्झिरहेछु
पीडादायी वर्तमानलाई एकलव्यको दृढतामा उभिएर
मनमा सजिएका विस्मृतिहरूमा तिम्रो न्यानो मायाको हौसला सम्झिरहेछु
आमा ! तिमी आदरका साथ मनभित्र सजिएकी छौ
आमा ! तिमी श्रद्धाका साथ आस्थाभित्र सजिएकी छौ ।


यो विस्मृतिको काला रातहरूलाई पन्छाएर
आमा ! तिमीलाई मेरै मनले सम्झिरहेछु
घात र प्रतिघातको जालझेलको सत्तामा उभिएर
आँखामा तिम्रो सन्तानप्रतिको निस्वार्थ प्रेमभाव सम्झिरहेछु
अभाव, समस्या र अशान्तिको थुप्रोमा उभिएर
मनमा तिम्रो सन्तानप्रतिको निस्वार्थ वात्सल्य सम्झिरहेछु
आमा ! तिमी आदरका साथ मनभित्र सजिएकी छौ
आमा ! तिमी श्रद्धाका साथ आस्थाभित्र सजिएकी छौ ।


हो आमा !
आँखामा सजिएका विस्मृतिहरूमा
तिम्रो उज्यालो अनुहार सम्झिरहेछु
तिम्रो न्यानो हातको स्पर्श सम्झिरहेछु
माईखोलाको चितामा बिदा भएकी तिमी
दुर्गा, काली, लक्ष्मी र सरस्वतीमा तिम्रो रूप देखिरहेछु
चिसो हावामा तिमीलाई सम्झिरहेछु
मीठो निद्रामा तिमीलाई सम्झिरहेछु
मेरो स्वास–स्वासमा तिमीलाई सम्झिरहेछु
मेरा आँखाहरूबाट निस्किएका आँसुमा तिमीलाई सम्झिरहेछु ।
— २०६८।११।०६, काठमाडौं

कबि: राधे श्याम लेकाली
काठमाडौ, नेपाल
 

No comments:

Your Comments

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। -(भोजपुरे एडमिन परिवार)

Blog Widget by LinkWithin