kavita

कविता



आन्तरिक मनोवान्छा

मनका पटाङ्गिनीहरु मुकुलित पुष्प झैं
अकलुषित पराग सेचन गर्दै
अथाह  अखण्डित  अक्षत
कसैले हिम्मत गर्न नसकेको भर्जिन भूमिमा
समदर्शी बिजनको गर्भाधान गरेर
अकिन्चन बस्ती परिसरभरी ढकमक्क फक्रिउन्
वंशको अक्षुण्णता कायम राख्दै ।

कोप्चेरो स्वार्थको जङ्गली भूत लागेर
मपाइत्वको आत्मश्लाघाले ग्रस्त
हिनताबोधको सियासिकारीले भेटेका
बिचारका लघुताभासहरुलाई
र हिंसा-प्रतिहिंसामा ऐश्वर्य कल्पिने
दिवान्ध-दीर्घसूत्री कुछेदहरुलाई
सिनिक्कै बढारेर लैजाने
स्वस्तिशान्तिको बतास आउन सकोस्
व्यभिचारको तुवाँलोले ढपक्कै ढाकेका मानव वस्तिहरुमा
अनि पो दिर्घायु-भाग्यको अरुणोदय हुन्छ त
जिजिविषा हराएका जीवनहरुमा ।


डढेलोले भस्मिभूत खोरियाका
वैचारिक कागुने अस्तित्वहरु
पाषाण हृदयलाई पगाल्दै
सौन्दर्य मिमांसाको उत्तोलक सिद्दान्त बनेर
उर्वर मनहरु सुविचारका साक्षात विम्ब हुन सके
रेगिस्तानी चराहरु सगरमाथाको गन्तब्य छुन
प्रेमका रुमानी कलरब गाउँदै गुँड फर्किन थाल्नेछन्
वर्गिकरण र खण्डीकरणबाट देखिएको उज्यालो
ओठेभक्तीको सपनामा केवल क्षणभङ्गुरता मात्र हो
यसर्थ भाईचाराले वशिभूत कर्तब्यनिष्ठता नै
मानविय एकताको शुत्रबद्द उद्गमस्थल हो
त्यही प्रेमिल सरोवरमा
विचारका मेघमालाहरु घनिभूत हुन सकुन् ।


मेरो मनोवान्छित मनोरथ
बोधिसत्वको साझा बागबानीमा
सर्वाङ्गिण उन्नत जातको
निरामय नस्ल सुधार हो
मेरो स्वकिय मनोइप्सा
सर्वदा मनहरुको मुस्कान हो
मन हाँसे मात्र जीवन मुस्कुराउन सक्छ
मनहरु यसरी मुस्कुराउन्
असारे खेतका गराहरुमा
सुर्किएका रोपारे लुङ्गिहरुको आकर्षणबाट
छिल्लिएका बाउसे आँखाहरुले
निर्वाध मन मैथुन गरे जस्तो
दसैं छेकमा सिंगारिएका बाटाघाटाहरु झैं
गाम-वस्तीमा गमक्क मनहरु फुलुन् ।


मेरो आन्तरिक मनोवान्छा
सर्पको मुखबाट फुत्त निस्केर
संजोगले बचेँको भ्यागुताले
संजीवनीको बुट्टो भेटे जसरी नै
अन्तरलडाइँबाट फुत्केका आप्रवासी ज्यानहरुले
पुनश्च मधुर मिलनको मूलघर प्राप्त गरुन्
मधेसका सहकालहरु
समानुपातिक भएर सर्लक्कै
कर्णाली प्रवेश गरुन्
दु:ख बाँडियोस - सुख बाँडियोस्
भोक बाँडियोस् - भोजन पनि बाँडियोस्
तर कदाचित
देश भागबण्डा नलागोस्
मुग्लानमा सबै चिज साटियोस्
बरु श्रम पोखियोस्
बरु सिप बेचियोस्
तर कुनै पनि शर्तमा
राष्ट्रिय स्वाभिमान नबेचियोस्
रोग नसाटियोस्
मेची-महाकाली फैलिएको
एकाघरका परिवारमा
सबैलाई सन्च-सुबिस्ता होस्
सुब्बेफाब्बे होस् ।


गणेश खड्का
तिवारी भञ्ज्याङ - ४ , भोजपुर
हाल : फ्रिगेट आइल्याण्ड, सेसेल्स ।




No comments:

Your Comments

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। -(भोजपुरे एडमिन परिवार)

Blog Widget by LinkWithin